रसुवा : नेपाली सेनाको नेतृत्वमा रसुवा–नुवाकोट सीमासँगै बेत्रावतीस्थित फलाखुखोलामा निर्माण हुने बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने भएको छ ।
गत भदौमा गएको रसुवा बाढीले सो खोलाको पक्की पुल बगाएपछि अवरुद्ध भएको पासाङल्हामुमार्गस्थित सो खोलामा बेलीब्रिज निर्माण भएसँगै सडक यातायात सञ्चालनमा आउने छ ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार गल्छी–मैलुङ–स्याफ्रुबेँसी सडक सुधार आयोजनाले आगलीटार–बेत्रावती सडकखण्ड सञ्चालनमा ल्याएपछि बेलीब्रिज निर्माणका लागि आवश्यक सामग्री ढुवानी गर्न सहज भएको हो ।
“बेलीब्रिज जडानका क्रममा आवश्यक सामग्री बेत्रावतीस्थित निर्माणस्थलमा पुऱ्याइएको छ । बाढी प्रभावित जनतालाई राहत दिने सरकारी नीति तथा कार्यक्रमलाई मूर्तरूप दिन बडादसैँअघि नै बेलीब्रिज जडान गरी सवारीसाधन सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको छ”, प्रवक्ता बस्नेतले भने ।
गत भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीले बेत्रावती बजार क्षेत्रमा ठूलो क्षति पु¥याउनुका साथै फलाखुखोलामा रहेका पुरानो र नयाँ दुवै पक्की पुल बगाएसँगै काठमाडौँ–नुवाकोट हुँदै रसुवासम्मको सडक यातायात प्रभावित भएको छ ।सो स्थानमा पुल बगेपछि रसुवाको दक्षिणी तथा उत्तरी क्षेत्रबीचको आवागमन, दैनिक उपभोग्य वस्तुको ढुवानी तथा अत्यावश्यक सेवासमेत प्रभावित भएको छ । बेलीब्रिज निर्माणपछि राजधानी काठमाडौँसँग रसुवाको सडक सम्पर्क सहज हुने जिल्लावासीको अपेक्षा छ ।
यसै सन्दर्भमा संविधानसभा सदस्य छोवाङ तेन्जिङ तामाङले आसन्न दसैँअघि बेत्रावतीमा पुल तयार भइदिए आमसर्वसाधारणलाई राष्ट्रिय चाडपर्वका समयमा आवतजावत गर्न सहज हुने र छिमेकी जिल्ला नुवाकोटसहित काठमाडौँसँग सडक यातायात जोडिने बताए । बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारसहित यातायात सञ्चालन कार्यमा सरकारका तर्फबाट भएका काम र बाढीपछि नेपाली सेनाको भूमिकाको उनले प्रशंसा गरेका छन् । -रासस
-
मुग्लिन बजारनजिकै पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध
-
वर्षासँगै हिमाली भेगमा भारी हिमपात
-
देशभर मौसम क्रमिक सुधार हुँदै
-
दुग्ध विकास संस्थानका महाप्रबन्धक सहित ८जना पक्राउ
-
कारागारभित्र सुरुङ खनेर आठ जना कैदी फरार
-
माइतीघर मण्डलमा : पत्रकार पक्राउको विरोधमा प्रदर्शन
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण