हेटौँडा : तिहार नजिकिँदै गर्दा मकवानपुरका सयपत्री फूल उत्पादक किसान उत्साहित भएका छन् । सरकारले भारतलगायत छिमेकी मुलुकबाट सयपत्री र मखमली फूल आयात तथा प्लास्टिकका फूलको बिक्री वितरणमा प्रतिबन्ध लगाएपछि स्वदेशी उत्पादनले बजार पाउने अपेक्षासहित किसान उत्साहित भएका हुन् ।
तिहारमा बढी प्रयोग हुने सयपत्री फूल पछिल्लो समय विभिन्न कार्यक्रम, मेला तथा महोत्सवमा समेत प्रयोग हुन थालेपछि यसको व्यावसायिक खेतीप्रति किसानको आकर्षण बढेको छ । मकवानपुरमा करिब २० बिघा क्षेत्रफलमा व्यवस्थित रूपमा व्यावसायिक फूल खेती हुँदै आएको छ । जिल्लाको मनहरी, बकैया, बागमती, राक्सिराङ, भीमफेदी, मकवानपुरगढी, इन्द्रसरोवर, थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा सयपत्री फूल खेती भइरहेको छ ।
नेपाल सयपत्री फूल उत्पादक केन्द्रीय सङ्घका अध्यक्ष बालकृष्ण चौलागाईंका अनुसार नेपाल पछिल्लो समय फूल उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । उहाँका अनुसार दस वर्षअघि नेपालमा आवश्यक फूलको १० प्रतिशत पनि उत्पादन हुँदैनथ्यो । अहिले भने देशको मागअनुसार फूल उत्पादन गर्न सक्ने अवस्था बनेको छ ।
उहाँले तिहारका बेला मकवानपुरमा मात्रै छ हजारदेखि १० हजार माला आवश्यक पर्ने बताउनुभयो । काठमाडौँ उपत्यकामा लक्ष्मीपूजाका लागि करिब ६० हजार माला आवश्यक पर्ने उहाँको भनाइ छ । इन्द्रसरोवर गाउँपालिका र थाहा नगरपालिका काठमाडौँसँग नजिक भएकाले ती क्षेत्रबाट उत्पादित धेरै फूल काठमाडौँ जाने गरेको उहाँले जानकारी दिनुभयो ।
चौलागाईंले गत वर्ष करिब १० क्विन्टल फूल र चार हजार पाँच सय माला बिक्री गर्नुभएको थियो । गत वर्ष जग्गा भाडामा लिएर फूल खेती गरेको स्मरण गर्दै उहाँले फूल टिप्ने र माला बनाउने क्रममा लगातार तीन रात नसुतेको अनुभव सुनाउनुभयो ।
उहाँका अनुसार गत वर्ष एकै सिजनमा आठ लाख रुपियाँ आम्दानी भएको थियो । उहाँले यस वर्ष करिब डेढ लाख सयपत्रीका बेर्ना उत्पादन गरी जिल्लाभित्र बिक्री गर्नुभएको छ । उहाँले करिब दुई कठ्ठा क्षेत्रफलमा फूल खेती गर्नुभएको छ ।हेटौँडा उपमहानगरपालिका–१७ गैरीगाउँका ४० वर्षीय प्रदीप थापाले पनि यस वर्षदेखि व्यावसायिक रूपमा सयपत्री फूल खेती सुरु गर्नुभएको छ । उहाँले दुई कठ्ठा क्षेत्रफलमा करिब दुई हजार बेर्ना रोप्नुभएको छ । सरकारी कार्यालयमा जागिरसँगै उहाँले फूल खेती, कुखुरापालन र तरकारी खेतीलाई पनि अघि बढाउनुभएको छ ।
थापाले फूल खेतीसँगै छ हजार ब्रोइलर कुखुरा पाल्नुभएको छ । टनेलमा गोलभेँडा र मौसमअनुसारका अन्य तरकारीसमेत खेती गर्दै आउनुभएका उहाँले विगत १० वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । जागिरबाट फर्किएपछि बिहान, साँझ र बिदाको समयमा बारीमा काम गर्ने गरेको उहाँले बताउनुभयो । सरकारले प्लास्टिकका फूलको बिक्रीमा रोक लगाउनु र भारतीय फूलको आयातमा कडाइ गर्न थालेपछि स्वदेशी फूलको बजार बढ्ने सम्भावना देखेर आफू फूल खेतीतर्फ आकर्षित भएको उहाँको भनाइ छ ।
पूर्वी मकवानपुरको बकैया गाउँपालिका–४ जुरेली तुलसीपुरका नारायण घिमिरेले पनि चार वर्षदेखि व्यावसायिक रूपमा सयपत्री फूल खेती गर्दै आउनुभएको छ । उहाँले यस वर्ष बकैया, बागमती, मकवानपुरगढी र हेटौँडामा १२ हजार सयपत्रीका बेर्ना बिक्री गर्नुभएको छ ।
अन्नबालीको तुलनामा नगदेबालीबाट राम्रो आम्दानी हुने भएपछि मौरीपालन र तरकारी खेतीसँगै फूल खेतीलाई निरन्तरता दिएको उहाँले बताउनुभयो ।
व्यवसायीका अनुसार अहिले सयपत्री फूल प्रतिकिलो चार सयदेखि साढे चार सय रुपियाँसम्म बिक्री भइरहेको छ । एक किलो फूलबाट पाँच वटासम्म माला बनाउन सकिने र एउटा माला ९० देखि एक सय रुपियाँसम्म बिक्री हुने गरेको उनीहरू बताउँछन् ।
स्वदेशी उत्पादनले बजार पाउने अवस्था बनेपछि फूल खेतीबाट राम्रो आम्दानी हुने अपेक्षा किसानले गरेका छन् । भारतबाट फूल आयातमा लगाइएको प्रतिबन्ध र प्लास्टिकका फूलको बिक्री वितरणमा रोक लगाउने सरकारी कदम स्वागतयोग्य भएको अध्यक्ष चौलागाईंले बताउनुभयो । उहाँका अनुसार स्वदेशी किसानले उत्पादन गरेको फूलले उचित बजार मूल्य पाउन सके यस खेतीप्रति किसानको आकर्षण अझ बढ्नेछ ।
-
पहिलो दिनमा सुरुङमार्ग दस्तुर : ११ लाख ७० हजार संकलन
-
फूल उत्पादनमा आत्मनिर्भर बन्दै नेपाल
-
सत्ता जुन पार्टीको भएपनि परराष्ट्र नीति एउटै हुनुपर्छ : सांसद क्रान्तिशिखा
-
विपक्षी दलको बैठकले : छिटो संसद अधिवेशन आह्वानको माग
-
दक्षिण कोरियालीसरकारद्धारा : एआई विकासका लागि १६ अर्ब डलर लगानी
-
चिनियाँ कम्युनिस्ट पार्टीद्धारा : भ्रष्टाचारविरुद्ध कडा अभियान
-
अब सरकारी कार्यालय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म
-
गुणस्तरीय र सुरक्षित स्वास्थ्य सेवाका लागी तीन दिने राष्ट्रिय कार्यशाला सम्पन्न
-
धान फल्ने खेतमा फूलखेती : पाँच लाख लगानी, १२ लाख आम्दानी
-
प्रेस स्वतन्त्रताको माग गर्दै माइतीघरमा नागरिक दबाब कार्यक्रम