logo
  • बुधबार, १२ कार्तिक २०८३
    • ट्रेन्डिङ

    प्रणय दिवस : प्रेमको उत्सव विश्वभर मनाइँदै

    प्रणय दिवस : प्रेमको उत्सव विश्वभर मनाइँदै

    महिला मुक्ति
    २ फाल्गुन २०८१
    1.1k
    Shares

    काठमाडौं– आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे विश्वभर हर्षोल्लासका साथ मनाइँदैछ। प्रेम, सद्भाव र आत्मीय सम्बन्धलाई सशक्त बनाउने यस विशेष दिनलाई विशेषगरी युवा पुस्ताले उल्लासमय वातावरणमा मनाउने गर्दछन्। प्रेमका विविध रूपहरूलाई सम्मान गर्ने यो दिवसले मानिसलाई आफ्ना प्रियजनप्रति माया, समर्पण र स्नेह व्यक्त गर्ने अवसर प्रदान गर्छ। प्रणय दिवसको रौनक एक हप्ताअघि नै सुरु भइसकेको हुन्छ। फेब्रुअरी ७ देखि रोज डे, प्रपोज डे, चक्लेट डे, टेडी डे, प्रमिस डे, हग डे र किस डे मनाउँदै अन्ततः आज प्रेमको पूर्ण उत्सवको रूपमा भ्यालेन्टाइन्स डे मनाइन्छ। यो अवसरमा प्रेमिल जोडी, साथीभाइ तथा परिवारका सदस्यहरूले एकआपसमा उपहार आदानप्रदान गर्ने, विशेष क्षणहरू साट्ने र प्रेम तथा विश्वास प्रकट गर्ने चलन छ।

    प्रणय दिवसको इतिहास तेस्रो शताब्दीको रोम साम्राज्यसँग जोडिएको छ। सम्राट क्लडियस द्वितीयले सैनिकहरूले विवाह गर्न नपाउने कठोर नियम लागू गरेका थिए। तर, प्रेमको पवित्रतालाई सम्मान गर्ने सन्त भ्यालेन्टाइन नामक इसाई पादरीले उक्त नियमको विरोध गर्दै प्रेमीहरूलाई गुप्त रूपमा विवाह गराउन थाले। जब सम्राटलाई यो कुरा थाहा भयो, उनले भ्यालेन्टाइनलाई फेब्रुअरी १४ का दिन मृत्युदण्ड दिए। उनको बलिदानको सम्मानस्वरूप यो दिनलाई प्रेम दिवसका रूपमा मनाउने परम्परा सुरु भएको मानिन्छ। समयक्रमसँगै यो दिवस अमेरिकादेखि युरोप, अष्ट्रेलिया हुँदै एसियाली मुलुकहरूमा समेत लोकप्रिय बन्दै गएको छ। नेपालमा पनि पछिल्लो समय युवा पुस्ताबीच प्रणय दिवस विशेष उत्साहका साथ मनाइन्छ। सामाजिक सञ्जालदेखि सार्वजनिक स्थलसम्म प्रेमको माहोल छाउने यो दिन जोडीहरूका लागि मात्र नभई मित्रता, पारिवारिक प्रेम र आत्मीयताका लागि पनि उत्तिकै महत्वपूर्ण बन्न पुगेको छ।

    प्रणय दिवस प्रेमको अभिव्यक्तिको प्रतीक मात्र नभई मानवीय सम्बन्धहरूलाई अझ बलियो बनाउन प्रेरित गर्ने पर्व हो। प्रेम, विश्वास, इमानदारी र सम्मानका आधारमा बनेका सम्बन्धहरूको महत्व झल्काउने यो दिवसलाई खुसी, सौहार्दता र आत्मीयताका साथ मनाऔं। यस अवसरमा प्रेमिल जोडीहरू र साथीभाइहरू विशेष योजना बनाउने गर्दछन्। कतिपयले रोमान्टिक डिनर आयोजना गर्छन् भने कोही घुमफिर तथा रमणीय स्थलहरूमा समय बिताउँछन्। सामाजिक सञ्जालमा प्रेम सम्बन्धी सन्देश तथा तस्बिरहरू साझा गर्ने चलन बढ्दै गएको छ। बजारमा पनि प्रणय दिवसको विशेष प्रभाव देख्न सकिन्छ। फूल, चक्लेट, उपहार, प्रेमपत्र तथा अन्य रोमाञ्चक वस्तुहरू किनमेल गर्नेको घुइँचो लाग्ने गर्छ। व्यवसायिक क्षेत्रले यस दिनलाई लक्षित गरी विभिन्न योजना तथा छुटको घोषणा गर्छन्, जसले गर्दा उपभोक्ताहरू उत्साहित हुने गर्छन्।

    परिवर्तनशील समयसँगै प्रणय दिवसको परिभाषा फराकिलो बन्दै गएको छ। यो केवल प्रेमी-प्रेमिका बीचको दिवस मात्र नभएर परिवार, साथीभाइ तथा आफन्तहरूलाई पनि विशेष महत्व दिने अवसर बन्न पुगेको छ। प्रेम, आत्मीयता र न्यानोपनको अनुभूति गराउने यस दिवसलाई हृदयदेखि नै आत्मसात गर्दै एकअर्काप्रति माया र सद्भाव व्यक्त गरौं।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to mahilamukti.com