logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    प्रहरीले चलाएको‘ब्राभो गोल्फ’नामक अपरेसनद्धारा साढे २१ किलो बढी सुन बरामद

    प्रहरीले चलाएको‘ब्राभो गोल्फ’नामक अपरेसनद्धारा साढे २१ किलो बढी सुन बरामद

    महिला मुक्ति
    २३ असोज २०८३
    144
    Shares

    काठमाडौं : काठमाडौं उपत्यकाका तीन जिल्ला  (काठमाडौं, ललितपुर र भक्तपुर) जघन्य अपराध अनुसन्धान गर्ने मुख्य जिम्मेवारी पाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई एउटा सूचना आयो– तस्करीको सुनको अवैध कारखाना चलिरहेको छ ।
    बुढानीलकण्ठ क्षेत्रमा चिनियाँ नागरिकले अवैध कारखाना सञ्चालन गरी तस्करीको सुन कारोबार गरिरहेको सूचना आएपछि अपराध अनुसन्धान कार्यालयको टोलीले त्यसलाई थप भेरिफाइ गर्दै निगरानी बढायो ।
    सूचनाअनुसार तस्करीको सुन कारोबार हुने गरेको पुष्टि भएपछि अपराध अनुसन्धान कार्यालयको ४ नम्बर पिलरले अपरेसनको तयारी गर्‍यो । अपरेसन ‘ब्राभो गोल्फ’ नाम दिएर प्रहरीले अपरेसन सुरु गर्‍यो । सामान्यतया ठूला प्रकृतिका, अनुसन्धानमा मिहिनेत लागेका र जनचासो बढी भएका विषयहरूमा अपरेसन गर्दा प्रहरीले त्यसलाई विशेष नाम दिने गरेको छ ।
    बिहीबार ५ बजेतिर सुन कारखाना खोलिएको बुढानीलकण्ठ नगरपालिका–२ माथिल्लो भंगालस्थित घरमा अपराध अनुसन्धान कार्यालयको टोली पुगिसकेको थियो । पहिल्यै रेकी गरिसकेको घर कर्डन गरेर प्रहरीले अपरेसन चलायो ।
    घरको ढोका खोल्ने बेलामा चिनियाँ नागरिकसँग प्रहरीको सामान्य धकेलाधकेल भयो । त्यसपछि घरभित्र प्रवेश गरेर प्रहरीले ठूलो मात्रामा सुन बरामद गर्‍यो । ‘हामीलाई ४ किलो सुनको सूचना आएको थियो । तर छापा मार्दा ठूलो परिमाणमा सुन भेटियो,’ अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले अनलाइनखबरसँग भने ।
    ४ किलो सुनको सूचनाका आधारमा छापा मार्दा २१ किलो ७५० . ६८ ग्राम सुन बरामद भएको छ । बरामद भएको दिनको बजार मूल्यअनुसार उक्त सुनको मूल्य ५४ करोड ६० लाख, ७ हजार ३२० रुपैयाँ हुन आउँछ ।
    माथिल्लो भंगालस्थित एक घरबाट प्रहरीले सुनका टुक्रा, बिस्कुट आकारका ढिक्का, लेसिलो अवस्थाको सुन, लेसिलो अवस्थाका धातुका टुक्रा गरी साढे २१ किलो बढी सुन बरामद गरेको छ ।
    यो सुनसँग तीन चिनियाँ नागरिक पक्राउ परेका छन् । जसमा चीनको जियाङ्सु ग्वाङडोङका २७ वर्षीय हान फिई, सोही ठाउँका ४७ वर्षीय चोउ लङसिन र सोही ठाउँका ३७ वर्षीय वाङ जियान्जेन छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com