बीसौं शताब्दीको विश्व राजनीतिक र सामाजिक इतिहासमा रुसी अक्टोबर क्रान्ति एउटा यस्तो युगान्तकारी परिघटना थियो जसले संसारभरका शोषित, पीडित र श्रमजीवी वर्गको मुक्ति आन्दोलनलाई नयाँ ऊर्जा र दिशानिर्देश प्रदान गर्यो।
यस क्रान्तिका मुख्य रणनीतिकार तथा दार्शनिक भ्लादिमिर इलिच लेनिनको योगदानबारे संसारभरि व्यापक चर्चा हुने गर्छ। तर, त्यही क्रान्तिको पृष्ठभूमि तयार पार्न, बोल्सेभिक पार्टीको संगठनात्मक तानाबाना बुन्न र क्रान्ति सम्पन्न भएपछि समाजवादी शिक्षा तथा संस्कृतिको जग निर्माण गर्न निर्णायक भूमिका खेल्ने एक अद्वितीय व्यक्तित्व थिइन्— नादेज्दा कोन्स्टान्टिनोभा क्रुप्सकाया। इतिहासका धेरैजसो पानाहरूमा उनलाई केवल ‘लेनिनकी पत्नी’ वा ‘सहधर्मिणी’ को रूपमा सीमित गरेर हेर्ने संकीर्ण दृष्टिकोण पाइन्छ।
तर वस्तुगत रूपमा अध्ययन गर्दा क्रुप्सकाया आफैँमा एक प्रखर मार्क्सवादी सिद्धान्तकार, कुशल संगठक, दूरदर्शी शिक्षाशास्त्री र महिला मुक्तिका लागि आजीवन लड्ने एक क्रान्तिकारी नेता थिइन्। उनको समग्र जीवन संघर्ष, त्याग, बौद्धिक साधना र समाजवादी समाज निर्माणप्रतिको अटल निष्ठाले भरिएको छ।
१ . प्रारम्भिक जीवन र वैचारिकी
नादेज्दा क्रुप्सकायाको जन्म सन् १८६९ फेब्रुअरी २६ मा तत्कालीन रुसी साम्राज्यको राजधानी सेन्ट पिटर्सबर्गमा भएको थियो। उनी मध्यमवर्गीय तर आर्थिक रूपमा विपन्न कुलीन परिवारमा हुर्किइन्।
उनका पिता कोन्स्टान्टिन क्रुप्सकी जारशाही सेनाका अधिकृत थिए, तर उनको झुकाव प्रगतिशील र विद्रोही विचारतर्फ थियो। जारशाहीका दमनकारी नीतिहरूको विरोध गरेको र पोल्यान्डका विद्रोहीहरूप्रति सहानुभूति राखेको आरोपमा उनका पितालाई सैनिक सेवाबाट निष्कासित गरिनुका साथै कानुनी झमेलामा फसाइयो। बाल्यावस्थामै पिताको मृत्यु भएपछि नादेज्दा र उनकी आमाले गम्भीर आर्थिक अभाव, गरिबी र सामाजिक असुरक्षाको सामना गर्नुपर्यो।
जीवन धान्नका लागि उनकी आमाले धनी परिवारहरूमा काम गर्नुपरेको थियो भने क्रुप्सकायाले पनि सानै उमेरदेखि ट्युसन पढाएर परिवारलाई आर्थिक सहयोग गर्न थालिन्। यही प्रारम्भिक पारिवारिक परिवेश र विपन्नताले उनलाई सामाजिक असमानता, अन्याय र जारशाहीको निरंकुश चरित्रलाई नजिकबाट नियाल्ने र बुझ्ने अवसर जुराइदियो।
विद्यालय शिक्षा पूरा गरेपछि क्रुप्सकायाले उच्च शिक्षाका लागि महिलाहरूका लागि सञ्चालित विशेष पाठ्यक्रमहरूमा अध्ययन सुरु गरिन्। त्यसबखत रुसी बौद्धिक जगतमा लियो टोल्स्टोयका नैतिक तथा सुधारवादी विचारहरूको निकै ठूलो प्रभाव थियो। सुरुवाती दिनहरूमा क्रुप्सकाया पनि टोल्स्टोयको सादा जीवन,अहिंसा र जनताको सेवा गर्ने दर्शनबाट निकै प्रभावित भइन्।
उनले गाउँले जीवनशैली अँगाल्ने, शारीरिक श्रम गर्ने र विपन्न वर्गलाई अक्षर चिनाउने काममा आफूलाई लगाइन्। तर समय बित्दै जाँदा उनलाई के महसुस भयो भने केवल व्यक्तिगत सदाचार, नैतिक उपदेश वा परोपकारी भावनाले समाजमा जरा गाडेर बसेको सामन्ती र पुँजीवादी शोषण अन्त्य हुन सक्दैन। समाजको वास्तविक रूपान्तरणका लागि संरचनात्मक र क्रान्तिकारी परिवर्तन नै अनिवार्य हुन्छ भन्ने निष्कर्षमा उनी पुगिन्।
सन् १८९० को आसपास उनी सेन्ट पिटर्सबर्गका भूमिगत विद्यार्थी अध्ययन समूहहरूसँग जोडिइन् जहाँ उनले कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सका कालजयी रचनाहरूको गहिरो अध्ययन सुरु गरिन्। मार्क्सवादको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दृष्टिकोणले उनको सोचमा आमूल परिवर्तन ल्याइदियो र उनी औपचारिक रूपमै वैज्ञानिक समाजवादको विचारधारमा समाहित भइन्।
२ . मजदुर आन्दोलन र लेनिनसँग सहयात्रा
सन् १८९० को दशकमा सेन्ट पिटर्सबर्ग रुसको तीव्र गतिमा औद्योगिकीकरण भइरहेको मुख्य सहर थियो जहाँ हजारौं मजदुरहरू अमानवीय परिस्थितिमा काम गर्न बाध्य थिए। क्रुप्सकायाले सेन्ट पिटर्सबर्गको औद्योगिक इलाकामा मजदुरहरूका लागि सञ्चालित साँझको आइतबार विद्यालयमा करिब पाँच वर्षसम्म स्वयंसेवी शिक्षिकाका रूपमा काम गरिन्। यो विद्यालय उनका लागि केवल साक्षरता सिकाउने कक्षाकोठा मात्र थिएन, बरु मजदुरहरूको दैनिक जीवन, पीडा, आकांक्षा र उनीहरूको क्रान्तिकारी सम्भावना बुझ्ने एउटा राजनीतिक प्रयोगशाला थियो।
उनले मजदुरहरूलाई अक्षर चिनाउँदै उनीहरूभित्र वर्ग चेतना जगाउने, पुँजीवादी शोषणको रहस्य बुझाउने र उनीहरूलाई संगठित संघर्षमा प्रेरित गर्ने काम गरिन्। मजदुरहरू पनि उनलाई अत्यन्त आदर गर्थे र आफ्ना सुखदुःख निर्धक्क सुनाउँथे। यसरी क्रुप्सकाया रुसी मजदुर आन्दोलनको प्रत्यक्ष धरातलीय यथार्थसँग गाँसिन पुगिन्।
यही क्रममा सन् १८९४ को फेब्रुअरी महिनामा सेन्ट पिटर्सबर्गमा मार्क्सवादी अध्ययन समूहको एउटा गोप्य बैठकमा क्रुप्सकायाको पहिलो पटक भ्लादिमिर इलिच लेनिनसँग भेट भयो। लेनिनको तीक्ष्ण राजनीतिक चेतना, गहिरो सैद्धान्तिक ज्ञान र मजदुर आन्दोलनप्रतिको स्पष्ट दृष्टिकोणबाट क्रुप्सकाया निकै प्रभावित भइन् भने लेनिन पनि क्रुप्सकायाको गम्भीरता, संगठनात्मक लगनशीलता र मजदुरहरूसँगको व्यावहारिक सम्बन्ध देखेर आकर्षित भए।
उनीहरू दुवै मिलेर ‘मजदुर वर्गको मुक्तिका लागि संघर्ष युनियन’ स्थापना गर्न सक्रिय भए। यो संगठनले सेन्ट पिटर्सबर्गका ठूला कारखानाहरूमा भएका मजदुर हडतालहरूको नेतृत्व गर्यो। तर जारशाहीको गुप्तचर प्रहरी ९ओख्राना० को कडा निगरानीका कारण सन् १८९५ को अन्त्यतिर लेनिनसहित धेरै नेताहरू पक्राउ परे। क्रुप्सकायाले केही समय बाहिरै रहेर संगठन सम्हालिन् तर सन् १८९६ को अगस्टमा उनी पनि पक्राउ परिन्। जेल जीवनका क्रममा उनले अनेक यातना र कठोर परिस्थितिको सामना गर्नुपर्यो, तर उनले आफ्नो क्रान्तिकारी निष्ठा डग्न दिइनन्।
३ . निर्वासनका कठोर वर्षहरू
अदालतले क्रुप्सकायालाई तीन वर्षको कठोर कारावास र त्यसपछि तीन वर्षकै लागि उफा प्रान्तमा निर्वासनको सजाय सुनायो। त्यसबेला लेनिन पहिले नै पूर्वी साइबेरियाको अत्यन्त विकट, चिसो र दुर्गम गाउँ शुशेन्स्कोएमा निर्वासित जीवन बिताइरहेका थिए। क्रुप्सकायाले जारशाही प्रशासनसमक्ष आफू लेनिनकी ‘मङ्गेतर’भएको दाबी गर्दै उनीसँगै बस्न पाउने सर्तमा शुशेन्स्कोए जान अनुमति मागिन्। प्रशासनले विवाह गर्ने सर्तमा मात्रै अनुमति दिएपछि सन् १८९८ को जुलाई महिनामा साइबेरियाको कठोर भूगोलमा उनीहरूको औपचारिक विवाह सम्पन्न भयो।
साइबेरियाको निर्वासन काल उनीहरूका लागि केवल कष्टको समय मात्र रहेन,बरु बौद्धिक उत्पादन र भविष्यको पार्टी निर्माणको रणनीतिक तयारी गर्ने उर्वर समय बन्यो। त्यहाँ रहँदा क्रुप्सकायाले लेनिनलाई उनको प्रसिद्ध पुस्तक ‘रुसमा पुँजीवादको विकास’ लगायतका थुप्रै सैद्धान्तिक रचनाहरू लेख्न, पाण्डुलिपि सच्याउन र अनुवाद गर्न निरन्तर सहयोग गरिन्।
निर्वासनको म्याद सकिएपछि क्रान्तिलाई संगठित गर्न उनीहरू सन् १९०१ मा युरोपतर्फ लागे। जर्मनीको म्युनिख, बेलायतको लन्डन र स्विट्जरल्यान्डको जेनेभामा रहँदा उनीहरूले रुसी सोसियल डेमोक्र्याटिक लेबर पार्टीलाई एउटा आधुनिक र सुदृढ क्रान्तिकारी संगठन बनाउने ऐतिहासिक अभियान थाले। यस अभियानको प्रमुख हतियार थियो— क्रान्तिकारी मुखपत्र ‘इस्क्रा’फिलिङ्गो ।
इस्क्रा केवल एउटा पत्रिका मात्र थिएन, लेनिनको भनाइमा त्यो ‘सामूहिक प्रचारक, सामूहिक आन्दोलनकारी र सामूहिक संगठक’ थियो। र, यस विशाल सञ्जालको सम्पूर्ण प्रशासनिक, गुप्त र संगठनात्मक व्यवस्थापन क्रुप्सकायाको काँधमा थियो। उनले पार्टीको सम्पादकीय बोर्डको सचिवको रूपमा काम गर्दै रुसभित्र रहेका सयौं भूमिगत समितिहरूसँग गुप्त भाषा र अदृश्य मसीको प्रयोग गरेर पत्राचार गरिन्।
विदेशबाट अवैध रूपमा पत्रिका, पर्चा र पुस्तकहरू सुटकेसको दोहोरो पिँधमा लुकाएर रुसभित्र तस्करी गर्ने, क्रान्तिकारी कमरेडहरूको सुरक्षाको प्रबन्ध मिलाउने, आर्थिक स्रोत जुटाउने र पार्टीका आन्तरिक विवादहरूमा समन्वय गर्ने जस्ता असाधारण कामहरू उनले एक्लै सम्हालिन्। क्रुप्सकाया नभएको भए ‘इस्क्रा’को त्यो विशाल राष्ट्रिय र अन्तर्राष्ट्रिय भूमिगत सञ्जाल सञ्चालन हुनै सक्दैनथ्यो भन्नु अतिशयोक्ति हुँदैन।
४ . सोभियत समाजवादी शिक्षाको आधारशिला
सन् १९१७ को अक्टोबरमा बोल्सेभिक पार्टीको नेतृत्वमा रुसमा ऐतिहासिक समाजवादी क्रान्ति सम्पन्न भयो। सोभियत सत्ता स्थापना भएपछि क्रुप्सकायाले राज्यको कुनै शक्ति वा उच्च ओहोदाको लोभ नगरी समाजको सबैभन्दा आधारभूत तर कठिन क्षेत्र— शिक्षा र संस्कृतिको रूपान्तरणलाई आफ्नो कार्यक्षेत्र बनाइन्। उनी अनातोली लुनाचास्र्कीको नेतृत्वमा रहेको जनशिक्षा कमिसारिएट (शिक्षा मन्त्रालय) मा उपकमिसार (उपमन्त्री) का रूपमा नियुक्त भइन्।
तत्कालीन रुस सामन्ती जारशाहीको लामो शासनका कारण अत्यन्त पछौटे अवस्थामा थियो जहाँ करिब ७० देखि ८० प्रतिशत जनता पूर्णतया निरक्षर थिए। मजदुर र किसानका छोराछोरीहरू विद्यालयको मुख देख्न पाउँदैनथे भने महिलाहरूको अवस्था झनै दयनीय थियो। यस्तो विषम परिस्थितिमा क्रुप्सकायाले शिक्षालाई केही सीमित कुलीनहरूको विशेषाधिकारबाट खोसेर सम्पूर्ण श्रमजीवी जनताको साझा सम्पत्ति बनाउने महाअभियानको नेतृत्व गरिन्।
क्रुप्सकायाले रुसमा शिक्षालाई समाजवाद निर्माणको मुख्य औजारका रूपमा व्याख्या गरिन्। उनको नेतृत्वमा सन् १९१९ मा ऐतिहासिक ‘लिकबेज’ (निरक्षरता उन्मूलन) अभियान सुरु गरियो। “यदि कुनै देशमा निरक्षरता छ भने त्यहाँ कुनै कम्युनिस्ट समाज बन्न सक्दैन” भन्ने लेनिनको मान्यतालाई उनले व्यवहारमा उतारे। देशभरि साक्षरता केन्द्रहरू, साँझका विद्यालयहरू, पुस्तकालयहरू र घुम्ती अध्ययन कक्षहरू खोलिए।
वयस्क मजदुरहरू, किसानहरू र सिपाहीहरूलाई कामको बीचमै अक्षर र हिसाब सिकाउने व्यवस्था गरियो। यस अभियानको परिणामस्वरूप केही दशकभित्रै सोभियत संघ विश्वकै सर्वाधिक साक्षर र शिक्षित नागरिक भएको देश बन्न सफल भयो। यसका साथै उनले बालबालिकाहरूको प्रारम्भिक विकासका लागि शिशु स्याहार केन्द्र र किन्डरगार्टेनहरूको राष्ट्रिय प्रणाली स्थापित गरिन्, जसले गर्दा एकातिर बालबालिकाले उचित हेरचाह र शिक्षा पाए भने अर्कोतिर महिलाहरू घरेलु कामको बन्धनबाट मुक्त भएर सामाजिक उत्पादनमा भाग लिन सक्षम भए।
५ . बहुप्राविधिक शिक्षा र नयाँ संस्कृति
शिक्षाशास्त्रको क्षेत्रमा क्रुप्सकायाको सबैभन्दा मौलिक र दूरगामी योगदान भनेको ‘बहुप्राविधिक शिक्षा’ (Polytechnic Education) को विकास र कार्यान्वयन हो। उनी पुँजीवादी शिक्षा प्रणालीको तीव्र आलोचक थिइन् जसले विद्यार्थीहरूलाई किताबी कीरा बनाउँथ्यो, शारीरिक श्रमबाट विमुख गराउँथ्यो र बौद्धिक श्रम तथा शारीरिक श्रमबीच गहिरो विभाजन सिर्जना गर्थ्यो। क्रुप्सकायाले मार्क्सको शिक्षासम्बन्धी अवधारणालाई अगाडि बढाउँदै शिक्षालाई उत्पादन प्रणाली, विज्ञान र श्रमसँग प्रत्यक्ष जोड्नुपर्ने धारणा राखिन्।
बहुप्राविधिक शिक्षाको अर्थ विद्यार्थीलाई केवल कुनै एउटा प्राविधिक सीप मात्र सिकाउनु थिएन, बरु आधुनिक उत्पादनका सबै आधारभूत सिद्धान्तहरू, प्रविधि, विज्ञान, सामाजिक चेतना र औजारहरूको व्यावहारिक ज्ञान दिनु थियो। विद्यालयहरूलाई नजिकका कारखाना, खेत र कार्यशालाहरूसँग जोडियो जहाँ विद्यार्थीहरूले सिद्धान्तसँगै श्रमको प्रत्यक्ष अभ्यास गर्न पाउँथे।
यसका साथै क्रुप्सकायाले पुस्तकालय आन्दोलनलाई नयाँ समाजवादी संस्कृति निर्माणको मेरुदण्ड मानिन्। उनको विचारमा पुस्तकालय केवल पुस्तक थुपार्ने गोदाम होइन, त्यो जनताको राजनीतिक र बौद्धिक चेतना ब्युँझाउने जीवन्त सांस्कृतिक केन्द्र हुनुपर्छ। उनले सोभियत संघका कुनाकाप्चासम्म सार्वजनिक पुस्तकालयहरूको सञ्जाल विस्तार गरिन्, पुस्तकालय विज्ञानसम्बन्धी नियमहरू बनाइन् र सर्वसाधारण मजदुर(किसानका लागि पुस्तकहरू सहज रूपमा उपलब्ध गराइन्।
अर्कोतर्फ, बालबालिका तथा किशोरहरूलाई सामूहिक भावना, प्रकृतिप्रतिको प्रेम, शारीरिक सुगठन, श्रमको सम्मान र सामाजिक उत्तरदायित्व सिकाउन उनले प्रसिद्ध ‘अखिल- संघ लेनिन पायोनियर संगठन’ (Young Pioneers) को अवधारणा र सांगठनिक संरचना निर्माण गरिन्। यस संगठनले बालबालिकालाई व्यक्तिवादी स्वार्थबाट माथि उठाएर समाज र मानवताको हितमा समर्पित हुन सिकाउने एउटा सशक्त पाठशालाको काम गर्यो।
६ . महिला मुक्ति र सैद्धान्तिक लेखन
महिला अधिकार र मुक्तिको सवालमा नादेज्दा क्रुप्सकाया बीसौं शताब्दीकी एक अग्रणी मार्क्सवादी चिन्तक हुन्। सन् १८९९ मा साइबेरियाको निर्वासनमै छँदा उनले ‘कामदार महिला’ (The Woman Worker) नामक ऐतिहासिक पुस्तिका लेखिन्। यो रुसी मार्क्सवादी आन्दोलनको इतिहासमै महिलाहरूको दोहोरो उत्पीडन र मुक्तिको बाटोबारे विश्लेषण गरिएको पहिलो मौलिक कृति थियो। यस पुस्तिकामा उनले पुँजीवाद र सामन्तवादले महिलाहरूलाई कसरी एकातिर कारखानामा सस्तो श्रमका रूपमा शोषण गर्छ र अर्कोतिर घरभित्र घरेलु दासताको चंगुलमा बन्दी बनाउँछ भन्ने तथ्य उजागर गरिन्।
क्रुप्सकायाले स्पष्ट शब्दमा भनिन् कि पुँजीवादी उदारवादी महिलावादीहरूले माग गर्ने कानुनी अधिकार मात्रले सर्वहारा महिलाहरूको वास्तविक मुक्ति हुन सक्दैनस महिलाको वास्तविक मुक्ति समाजवादी क्रान्ति र निजी सम्पत्तिको अन्त्यसँग अभिन्न रूपमा जोडिएको छ।
क्रान्तिपछि सोभियत संघले महिलाहरूलाई कानुनी, राजनीतिक र आर्थिक रूपमा पुरुषसरह पूर्ण समान अधिकार प्रदान गर्यो। तर क्रुप्सकाया कानुन बनेर मात्र महिला मुक्त हुन सक्दैनन् भन्ने कुरामा स्पष्ट थिइन्। उनले महिलाहरूलाई भान्साकोठा, सरसफाइ र बच्चा हुर्काउने जस्ता थकाउने घरेलु कामहरूबाट मुक्त गर्न सामाजिक संरचनाहरूको विकासमा जोड दिइन्। यसै नीतिअन्तर्गत सोभियत संघमा सार्वजनिक क्यान्टिनहरू, साझा लुगा धुने घरहरू (Laundries) र निःशुल्क शिशु स्याहार केन्द्रहरू व्यापक रूपमा स्थापना गरिए।
उनले महिलाहरूलाई राजनीति, राज्य सञ्चालन र उद्योग व्यवस्थापनमा प्रत्यक्ष सहभागी गराउन विशेष प्रशिक्षण र अभियानहरू सञ्चालन गरिन्। उनको निरन्तरको पहलकदमीले गर्दा तत्कालीन समयमा संसारका कुनै पनि विकसित भनिएका पुँजीवादी मुलुकहरूमा भन्दा पहिले सोभियत संघका महिलाहरूले समान मताधिकार, समान कामका लागि समान ज्याला, सुरक्षित मातृत्व बिदा र उच्च शिक्षाको समान अवसर प्राप्त गर्न सफल भएका थिए।
७ . क्रुप्सकायाको ऐतिहासिक विरासत
सन् १९२४ को जनवरीमा भ्लादिमिर लेनिनको असामयिक निधनपछि क्रुप्सकायाको जीवनमा ठूलो व्यक्तिगत र राजनीतिक रिक्तता आयो। लेनिनको भौतिक बिदाइपछि पार्टीभित्र नेतृत्व, नीति र भावी दिशालाई लिएर तीव्र मतभेद र गुटबन्दी सुरु भयो। जोसेफ स्टालिनको शक्ति सुदृढ हुँदै जाँदा क्रुप्सकायाले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, सामूहिक नेतृत्व प्रणाली र लेनिनवादी कार्यशैलीको रक्षाका लागि आफ्नो दृढ अडान प्रस्तुत गरिन्। उनले लेनिनका अन्तिम पत्रहरू तथा ‘लेनिनको इच्छापत्र’ (Lenin’s Testament), जसमा स्टालिनको कार्यशैलीप्रति गम्भीर चिन्ता व्यक्त गरिएको थियो, त्यसलाई पार्टी महाधिवेशनसमक्ष ल्याउन महत्वपूर्ण भूमिका खेलिन्।
यद्यपि शक्ति सन्तुलन स्टालिनको पक्षमा गइसकेको थियो र क्रुप्सकायाले अनेकौं राजनीतिक दबाब, घेराबन्दी र मानसिक तनावको सामना गर्नुपर्यो। यति हुँदाहुँदै पनि उनी पार्टी फुटाउने वा क्रान्तिका उपलब्धिहरूलाई कमजोर बनाउने पक्षमा कहिल्यै गइनन्। उनले पार्टी केन्द्रीय समिति र सर्वोच्च सोभियतमा रहेर जीवनको अन्तिम क्षणसम्म शिक्षा, साक्षरता र बालबालिकाको हितका लागि निरन्तर काम गरिरहिन्।
यस कालखण्डमा उनले लेखेको ‘लेनिनका संस्मरणहरू’ (Reminiscences of Lenin) नामक पुस्तक मार्क्सवादी आन्दोलन र इतिहासको एउटा अमूल्य दस्तावेज हो। यस पुस्तकमा उनले लेनिनको व्यक्तिगत, बौद्धिक र राजनीतिक जीवनलाई कुनै अन्धभक्ति वा अतिरञ्जना नगरी अत्यन्त वस्तुपरक, सरल र प्रामाणिक ढंगले प्रस्तुत गरेकी छन्।
सन् १९३९ फेब्रुअरी २७ मा, आफ्नो ७० औं जन्मदिन मनाएको भोलिपल्ट, क्रुप्सकायाको निधन भयो। उनको पार्थिव शरीरको अस्तु मस्कोको लालचोकस्थित क्रेमलिन पर्खालमा राष्ट्रिय सम्मानका साथ सुरक्षित राखियो। समग्रमा मूल्यांकन गर्दा नादेज्दा क्रुप्सकाया बीसौं शताब्दीको क्रान्तिकारी आन्दोलनकी यस्ती महान् हस्ती हुन् जसले आफ्नो व्यक्तिगत स्वार्थ, प्रतिष्ठा र अहंलाई पूर्णतया तिलाञ्जली दिएर आफ्नो सम्पूर्ण जीवन श्रमजीवी जनताको मुक्ति, समाजवादी शिक्षाको विकास र समानतामा आधारित नयाँ मानवीय संस्कृतिको निर्माणमा समर्पित गरिन्।
उनको वैचारिक निष्ठा, सांगठनिक त्याग र शैक्षिक दर्शन आज पनि संसारभरिका परिवर्तनकारी तथा न्यायप्रेमी मानिसहरूका लागि प्रेरणाको स्रोत बनिरहेको छ।
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी