logo
  • बुधबार, १२ कार्तिक २०८३
    • ट्रेन्डिङ

    बिहीबारदेखि भारी वर्षा र हिमपातको सम्भावना

    बिहीबारदेखि भारी वर्षा र हिमपातको सम्भावना

    महिला मुक्ति
    ९ कार्तिक २०८३
    108
    Shares

    काठमाडौँ : बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने सम्भावना देखिएको छ । सो वर्षाले हिमाली जिल्ला मनाङसहित कम्तीमा २९ जिल्ला बढी प्रभावित हुने प्रारम्भिक आकलन छ । मौसमविद् विनोद पोखरेलले आगामी बिहीबारदेखि नेपालमा प्रवेश गर्ने मौसमी प्रणालीका कारण तीनदेखि चार दिनसम्म वर्षा हुने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएका छन्। उनले बिहीबार रातिदेखि शुक्रबार रातिसम्मको अवधि वर्षाका दृष्टिले बढी जोखिमपूर्ण हुन सक्ने बताए।
    पोखरेलले सार्वजनिक गरेको मौसम पूर्वानुमानसम्बन्धी भिडियोमा बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणाली नेपालतर्फ आउने देखिएको जानकारी दिएका छन्। उक्त प्रणालीसँगै अर्को पश्चिमी वायु प्रणालीसमेत सक्रिय रहेकाले नेपालमा भारी वर्षाको सम्भावना बढेको उनको भनाइ छ।
    उनका अनुसार विभिन्न मौसम पूर्वानुमान मोडलले उक्त प्रणाली भारतको आन्ध्र प्रदेश हुँदै नेपालतर्फ आउने संकेत गरेका छन्। यो प्रणाली आगामी अक्टोबर २७ अर्थात् कात्तिक ११–१२ गतेतिर नेपालसम्म आइपुग्ने अनुमान गरिएको छ। मंगलबारदेखि नै आकाशमा बादल देखिन थाल्ने र बिहीबार रातिदेखि वर्षा सुरु हुन सक्ने उनले बताएका छन्।
    मौसमविद् पोखरेलका अनुसार कात्तिक १२ देखि १५ गतेसम्मको अवधिमा देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ। चार दिनको अवधिमा १५० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने क्षेत्रहरूमा बागमती प्रदेशका धेरै स्थान रहेका छन्। कोशी र गण्डकी प्रदेशका केही स्थानमा पनि उल्लेख्य वर्षा हुने सम्भावना देखिएको उनले बताएका छन्। उनले प्रस्तुत गरेको पूर्वानुमानअनुसार लगातार वर्षा हुँदा वा छोटो अवधिमै भारी वर्षा हुँदा जोखिम बढ्न सक्ने २९ जिल्ला पहिचान गरिएका छन्। ती जिल्लाहरू मुख्यतः लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका क्षेत्रमा पर्ने उनले बताएका छन्।
    विशेषगरी मनाङ जिल्लामा पनि भारी वर्षाको सम्भावना देखिएकाले सतर्कता अपनाउनुपर्नेमा उनले जोड दिएका छन्। यसअघि हिमपहिरोका कारण मानवीय क्षति भएको मनाङ क्षेत्रमा थप वर्षाले जोखिम बढाउन सक्ने भएकाले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।
    पोखरेलका अनुसार बंगालको खाडीबाट आउने प्रणालीसँगै नेपालमा पर्याप्त जलवाष्प भित्रिने र माथिल्लो वायुमण्डलमा विकसित अर्को ट्रफ प्रणालीले समेत वर्षालाई सहयोग पुर्‍याउने सम्भावना छ। नेपालका पहाडी तथा हिमाली भूभागका कारण पनि वर्षा थप तीव्र हुन सक्ने उनले बताएका छन्। उनले अहिलेको पूर्वानुमानमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा तुलनात्मक रूपमा कम प्रभाव देखिएको उल्लेख गरेका छन्। यद्यपि अन्य प्रदेशमा वर्षाको प्रभाव पर्न सक्ने उनको आकलन छ।
    मौसम पूर्वानुमान समयसँगै परिवर्तन हुन सक्ने भएकाले जोखिममा पर्ने जिल्ला र वर्षाको मात्रा पनि फेरिन सक्ने पोखरेलले स्पष्ट पारेका छन्। उनले आगामी दिनमा पूर्वानुमान अद्यावधिक गर्दै जाने बताएका छन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to mahilamukti.com