logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सुकुम्बासीमाथि संविधान विपरीत कार्य नगर्न संघको चेतावनी

    सुकुम्बासीमाथि संविधान विपरीत कार्य नगर्न संघको चेतावनी

    महिला मुक्ति
    ११ चैत्र २०८२
    351
    Shares

    काठमाडौँ । अखिल नेपाल सुकुम्बासी संघले सुकुम्बासीमाथि ज्यादती नगर्न चेतावनी दिएको छ। संघले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी हालै काठमाडौँको सिफल र टोखामा सुशीला कार्की सरकारले जबरजस्ती डोजर लगाएकोमा आक्रोश व्यक्त गर्दै संविधान विपरीतको कार्य नगर्न चेतावनी दिएको हो ।
    बुधबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय भूमि आयोगका पूर्वउपाध्यक्ष नहेन्द्र खड्काले हालै काठमाडौंका सुकुम्बासी बस्तीहरुमा सरकारले डोजर लगाएर राज्य आतंक फैलाएकोे आरोप लगाए । उनले कार्की नेतृत्वको चुनावी सरकारले संविधान विपरित कार्य मात्रै नगरेर अमानवीय हर्कत गरेको बताए ।
    खड्काले देशमा ७० लाख सुकुम्बासी तथा भूमिहीन रहेको र ती सबै विद्रोहमा उत्रिएमा कसैले पनि रोक्न नसक्ने भन्दै सुकुम्बासीमाथि खेलवाड नगर्न चेतावनी दिए ।
    खड्काले आफू राष्ट्रिय भूमि आयोगमा हुँदा १३ लाख ५० हजार भन्दा बढी परिवारको नयाँ निबेदन र ८४ हजार ६ सय परिवारको पुराना आयोगका अधुरा कामहरु सम्पन्न गर्ने निवेदन परेको, १० लाख ५२ हजार परिवार भन्दा धेरै परिवारका निवेदन लगत प्रविष्टि(डाटा इन्ट्री) भई आवश्यक छानविन र प्रमाणिकरणको प्रक्रियामा रहेको जनाए । खड्काले आफ्नो कार्यकालमा ५ हजार ३ सय ५३ परिवारलाई लालपूर्जा वितरण गरेको र २ लाख ५० हजार भन्दा धेरै कित्ता जमिन नापजाँच गरेको दाबी गरे ।
    अखिल नेपाल सुकुम्बासी संघको वरिष्ठ उपाध्यक्ष टिकाराम गुरुङले भर्खरै सम्पन्न निर्वाचनपश्चात प्रतिनिधिसभाका सदस्यहरूले सपथ समेत नखाएको र सरकार बनिनसकेको संक्रमणकालीन अवस्थामा सुकुम्बासी बस्तीमा डोजर लगाउनु अमानवीय कार्य भएको बताए ।
    उपाध्यक्ष लिला बहादुर मोक्तान अन्तरिम सरकारले आफू जाँदाजाँदै सुकुम्बासी वस्तीमा डोजर लगाएको कार्यले आफूहरुलाई विद्रोह गर्न बाध्य बनाएको बताए ।
    अर्का उपाध्यक्ष धनस्वर लिम्बुले सुकुम्बासीको वर्गीय हित र बस्ती रक्षाका लागि सबैलाई एकजुट हुन आह्वान गरे ।
    संगठनद्वारा जारी प्रेस विज्ञप्ति वाचन गर्दै महासचिव प्रकाश खरेलले सुकुम्बासीको हक, हित र अधिकारका लागि आफूहरुले छिट्टै संघर्षका कार्यक्रम सार्वजनिक गर्ने जनाए ।
    मनहोहर बस्तिका सुकुम्बासी अभियान्ता सिवि लामाले सबै बस्तीहरुको रक्षा गर्न सुकुम्बासीहरु एक हुनुपर्ने धारणा राखे ।
    टोखा नगरपालिका वडा नम्बर ७ दाहालगौंडा बस्तीका पीडित दलबहादुर खड्काले आफूहरु २०५८ सालदेखि सो बस्तीमा बस्तै आएको, सोही ठाउँबाट नागरिकता र मतदाता परिचय पत्रसमेत बनेको, राष्ट्रिय भूमि आयोगमा निवेदन दिई प्रमाणीकरण प्रक्रियमा रहेको आवस्थामा नै एक्कासी डोजर लगाउँदा विल्लिबाठ भएको बताए । खड्काले सुत्केरी, वृद्ध, बालबालिका खुल्ला आकाशमुनी बस्न बाध्य भएको दुखेसो व्यक्त गरे ।
    २०८२ फागुन २८ गते काठमाडौँ महानगरपालिका वडा नं. ७ को सिफल र मिति २०८२ चैत्र ९ गते विहानै काठमाडौँ जिल्लाको टोखा नगरपालिका वडा नं. ७ को दाहालगौँडा, धापासीस्थित सुकुम्बासी बस्तीमा लामो समयदेखि बसोबास गरिरहेका जनताको घरमा बुल्डोजर लागएको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com