logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    राष्ट्रियता रक्षाका लागि वामपन्थी एकता अनिवार्य

    राष्ट्रियता रक्षाका लागि वामपन्थी एकता अनिवार्य

    महिला मुक्ति
    ५ असोज २०८३
    261
    Shares

    काठमाडौँ : पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले राष्ट्रियता रक्षाका लागि वामपन्थी एकता अनिवार्य भएको बताएका छन्। आइतबार काठमाडौँको होटल हार्दिकमा आयोजित राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित ‘सहकारीमा ठगीको जालो’ पुस्तकको विमोचन समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
    पूर्वप्रधानमन्त्री खनालले देशको राष्ट्रियता इतिहासमै सबैभन्दा कमजोर अवस्थामा पुगेको भन्दै राष्ट्रियताको रक्षाका लागि वामपन्थी एकता अनिवार्य भएको बताउदै भने- ‘अहिले वामपन्थी आन्दोलन धेरै कमजोर भयो। अहिले त न्यूनतम रुपमा एकताबद्ध भएर जाऔँ भन्ने संस्कृति पनि देखिएको छैन। त्यस हुनाले सबै वामपन्थीहरूको बीचमा एकता अनिवार्य छ। ’
    पूर्वप्रधानमन्त्री खनालले वामपन्थी शक्ति कमजोर हुँदा देश अस्थिरता र अनिश्चितताको अवस्थामा पुगेको दाबी गर्दै राष्ट्रिय मुद्दाहरू समाधान गर्न वामपन्थी शक्तिहरूबीच एकता गर्नुपर्नेमा जोड दिए। उनले भने- ‘अहिले एकदमै अस्थिरता अनि अनिश्चयताको अवस्थामा देश आइपुगेको छ। कम्युनिस्ट आन्दोलनले सुरुदेखि आफूलाई भन्दै हामी सबैभन्दा बढी देशभक्तिपूर्ण आन्दोलन हौँ भनेर आएको हो र साँचो कुरा पनि हो, तर हामी आफैँले एकपछि अर्का गलत कार्यहरू, गलत सम्झौताहरू गर्न पुग्यौँ, त्यसले गर्दाखेरि देशको राष्ट्रियता गम्भीर मोडमा उभिन पुगेको छ।’
    पूर्वप्रधानमन्त्री खनालले नीति, सिद्धान्त, आदर्श तथा वैचारिक–राजनीतिक दिशाका आधारमा वामपन्थी एकता गर्न आह्वान गर्दै एकता नेताहरूको टाउको जोडेर मात्रै गर्न नहुने बताए । उनले भने- ‘एकता भनेको नीतिको आधारमा, सिद्धान्तको आधारमा, आदर्शको आधारमा एउटा सही वैचारिक–राजनीतिक दिशाको आधारमा मात्र एकता बनायौँ भने त्यो दिगो हुन्छ,’ खनालले भने, वामपन्थी एकता भनेको टाउको जोडेर हुँदैन।’
    पूर्वप्रधानमन्त्री खनालले पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न विद्यमान नीति तथा कानुनमा संशोधन गर्नुपर्ने भन्दै सहकारी क्षेत्रलाई बलियो बनाउन नयाँ नीतिगत तथा कानुनी आधार आवश्यक रहेको बताए ।
    राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित ‘सहकारीमा ठगीको जालो’ पुस्तकको बिमोचन पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनाल, नेकपा (एमाले)का नेता प्रदीप ज्ञवाली, नेकपाका नेता देव गुरुङलगायतले गरेका थिए । उक्त पुस्तकमा सहकारीमा देखिएको समस्याबारे चर्चा गरिएको छ। यससँगै सहकारी ठगीले आमनागरिकलाई पारेको असरबारे पनि पुस्तकमा उल्लेख गरिएको छ।
    अखिल नेपाल किसान महासंघ (अप्फा) का केन्द्रीय अध्यक्ष भैरवराज रेग्मीको अध्यक्षतामा सम्पन्न विमोचन कार्यक्रममा नेकपा (मसाल) का केन्द्रीय प्रवक्ता रामप्रकाश पुरी, पूर्वमन्त्री तथा राष्ट्रिय सहकारी महासंघका पूर्वअध्यक्ष केशव बडाल, पूर्वमुख्य सचिव लीलामणि पौडेल, संविधानविद् तथा सङ्कटग्रस्त सहकारी व्यवस्थापन समितिका पूर्वअध्यक्ष काशीराज दाहाल र सहकारी विज्ञ तथा राष्ट्रिय सहकारी महासंघका पूर्वमहाप्रबन्धक चित्रकुमारी थाम्सुहाङ सुब्बा, दिल्लीप्रसाद भट्टराई, डा. दिर्घसिंह बक, समीर सिंह लगायतको उपस्थिति रहेको थियो ।
    कार्यक्रममा पुस्तकका लेखक मनोज भट्टकी छोरी प्राचीले धन्यवाद ज्ञापन गरेकी थिइन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com