logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    फोक्सोको क्यान्सरका चार चरण : यस्ता हुन्छन् लक्षणहरु

    फोक्सोको क्यान्सरका चार चरण : यस्ता हुन्छन् लक्षणहरु

    महिला मुक्ति
    २२ भाद्र २०८३
    486
    Shares

    काठमाडौँ । फोक्सो हाम्रो श्वासप्रश्वास प्रणालीको महत्त्वपूर्ण अङ्ग हो । दुवै फोक्सोको मुख्य काम शरीरमा अक्सिजन ल्याउनु र कार्बन डाइअक्साइड बाहिर निकाल्नु हो ।
    तर, फोक्सोमा क्यान्सरका कोष बढ्न थालेपछि यसले बिस्तारै फोक्सोको काममा असर पार्न सक्छ । फोक्सोको क्यान्सर समयमै पत्ता लागेर उपचार हुन नसकेमा यो फोक्सोबाट बाहिर फैलिन सक्छ ।
    यसले लिम्फ नोड तथा शरीरका अन्य अङ्गलाई समेत प्रभावित गर्न सक्छ ।
    फोक्सोको क्यान्सर विभिन्न चरणमा अघि बढ्दै जाँदा यसको प्रभाव पनि बढ्दै जान्छ । फोक्सोको क्यान्सरको अवस्था सामान्यतया नम्बर प्रणाली र ‘टीएनएम’ प्रणालीबाट मूल्याङ्कन गरिन्छ ।
    पहिलो चरण :
    फोक्सोको क्यान्सरको पहिलो चरणमा ट्युमर सामान्यतया ५ सेन्टिमिटरभन्दा सानो हुन्छ । यो फोक्सोबाट बाहिर फैलिएको हुँदैन र लिम्फ नोड पनि प्रभावित भएका हुँदैनन् । यस चरणमा क्यान्सर फोक्सोको सीमित भागमै रहेको हुन्छ ।
    दोस्रो चरण :
    दोस्रो चरणमा ट्युमरको आकार ५ सेन्टिमिटरभन्दा ठुलो हुन सक्छ र लिम्फ नोड प्रभावित हुन सक्छन् । यस अवस्थामा क्यान्सर फोक्सोबाट बाहिर फैलिँदै छातीको भित्तासम्म पुग्न सक्छ । फोक्सोको तल्लो भागमा रहेको मांसपेशी, मुटुलाई ढाक्ने तह तथा मुख्य श्वासनली ‘ब्रोङ्कस’सम्म पनि यसको प्रभाव पुग्न सक्छ । क्यान्सरले ब्रोङ्कसलाई प्रभावित गर्दा फोक्सोको सम्बन्धित भाग खुम्चिन वा बन्द हुन सक्छ । त्यस्तै, फोक्सोको एउटै लोबमा अर्को ट्युमर पनि देखिन सक्छ ।
    तेस्रो चरण :
    फोक्सोको क्यान्सर तेस्रो चरणमा पुग्दा यसको दायरा अझ बढ्छ । यस अवस्थामा फोक्सो खुम्चिन सक्छ । ट्युमर छातीको भित्तासम्म फैलिन सक्छ । फोक्सोको तल रहेको डायफ्राम, मुटुलाई ढाक्ने तह तथा अर्को फोक्सोका लिम्फ नोडसमेत प्रभावित हुन सक्छन् । क्यान्सर छातीभित्र रहेका मुटु, श्वासनली, भोजननली वा रक्तनलीसम्म पनि फैलिन सक्छ ।
    चौथो चरण :
    फोक्सोको क्यान्सर चौथो चरणमा पुग्दा क्यान्सर फोक्सोमा मात्र सीमित रहँदैन । यो शरीरका अन्य भागमा पनि फैलिन सक्छ । यसले कलेजो, हड्डी र मस्तिष्कजस्ता अङ्गलाई समेत प्रभावित गर्न सक्छ । यसलाई ‘मेटास्टेटिक’ अवस्था भनिन्छ । यस्तो अवस्थामा थप मूल्याङ्कनका लागि ‘पीईटी–सीटी’ तथा मस्तिष्कको ‘एमआरआई’ लगायत परीक्षण प्रयोग गरिने उल्लेख छ ।
    यस्ता हुन्छन् फोक्सो क्यान्सरका लक्षण :
    फोक्सोको क्यान्सरको सुरुवाती चरणमा स्पष्ट लक्षण नदेखिन पनि सक्छ । कतिपय अवस्थामा बिरामीले आफूलाई सामान्यभन्दा अस्वस्थ महसुस गर्न सक्छन् । तर, क्यान्सर बढ्दै जाँदा विभिन्न लक्षण देखिन थाल्छन् स्
    लगातार खोकी लागिरहनु र उपचार गर्दा पनि निको नहुनु ।
    खोकी लाग्दा मुखबाट रगत आउनु वा खकारमा रगत देखिनु ।
    सास फेर्न गाह्रो हुनु ।
    सास फेर्दा घरघर आवाज आउनु ।
    छाती वा काँध आसपास दुख्नु ।
    कुनै स्पष्ट कारणबिना तौल घट्नु ।
    जतिबेला पनि थकाइ महसुस हुनु ।
    भोक कम लाग्नु ।
    खाना वा अन्य वस्तु निल्न कठिन हुनु ।
    आवाज धोत्रो हुनु ।
    निमोनिया भइरहनु ।
    करङमा दुखाइ हुनु ।
    औँला वा नङको आकारमा परिवर्तन आउनु ।     – एजेन्सी

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com