logo
  • बिहिबार, १३ कार्तिक २०८३
    • ट्रेन्डिङ

    टाउको र घाँटीको क्यान्सर खतरा कम गर्ने : चुइङ्गमको विकास

    टाउको र घाँटीको क्यान्सर खतरा कम गर्ने : चुइङ्गमको विकास

    महिला मुक्ति
    २७ साउन २०८३
    126
    Shares

    वाशिङटन डीसी :  क्यान्सर गम्भीर खालको रोग हो । यसको उपचार अन्य रोगको तुलनामा जटिल मानिन्छ ।
    तर अनुसन्धाताहरूले यस्तो खालकोे बायोइन्जिनयर्ड चुइङ्गम बनाएका छन् , जसलाई चपाउँदा टाउको र घाँटीसँग सम्बन्धित क्यान्सरको जोखिम निकै हदसम्म कम हुन्छ । पेन्सिलभेनिया विश्वविद्यालयका अनुसन्धानकर्ताले विकास गरेको चुइङगमले परीक्षणका क्रममा मानव प्यापिलोमा भाइरस (एचपीभी) को मात्रा र्‍यालको नमुनामा ९३ प्रतिशतसम्म र मुखबाट कुल्ला गरिएको नमुनामा ८० प्रतिशतसम्म घटाएको पाइएको छ । यस अनुसन्धान टोलीको नेतृत्व विश्वविद्यालयको स्कुल अफ डेन्टल मेडिसिनका हेनरी डानियलले गरेका थिए । अध्ययनको निष्कर्ष ‘साइन्टिफिक रिपोट्र्स’मा प्रकाशित छ ।
    अनुसन्धानमा मुख तथा घाँटीको क्यान्सरसँग सम्बन्धित एचपीभीसँगै पोर्फाइरोमोनास जिन्जिभालिस र फुसोब्याक्टेरियम न्यूक्लिएटम नाम गरेका दुई प्रकारका ब्याक्टेरियामाथि परीक्षण गरिएको थियो । यो चुइङगम ल्याब्ल्याब नाम गरेको बियाँबाट बनाइएको हो । यसमा प्राकृतिक रूपमा पाइने एफआरआईएल नामक भाइरसविरुद्ध काम गर्ने प्रोटिन हुन्छ । अनुसन्धानकर्ताले पछि हानिकारक ब्याक्टेरिया नष्ट गर्न सक्ने ‘प्रोटेग्रिन’ नामक एन्टिमाइक्रोबियल पेप्टाइड पनि चुइङ्गममा हालेका थिए ।
    प्रयोगशालामा गरिएको परीक्षणमा चुइङगमको एक मात्रा प्रयोग गर्दा दुवै हानिकारक ब्याक्टेरियाको स्तर लगभग शून्यमा झरेको पाइएको अनुसन्धानकर्ताले बताएका छन् । महत्त्वपूर्ण कुरा उपचारले मुखमा प्राकृतिक रूपमा पाइने लाभदायक ब्याक्टेरियालाई उल्लेखनीय रूपमा क्षति नपुर्‍याएको पनि देखियो ।
    वैज्ञानिकहरूले यो चुइङ्गमलाई अहिले नै क्यान्सरको उपचारको विकल्पका रूपमा नभई भविष्यमा विद्यमान उपचारसँगै प्रयोग गरिने सहायक उपचार वा संक्रमण रोकथामका उपायका रूपमा विकास गर्न सकिने सम्भावना औंल्याएका छन् ।
    प्यापिलोमा भाइरस भनेको मानिसको छाला र शरीरका केही भागमा संक्रमण गराउन सक्ने भाइरसहरूको ठुलो समूह हो । मानिसमा संक्रमण गराउने प्रकारलाई सामान्यतया मानव प्यापिलोमा भाइरस भनिन्छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com