logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    नेपाली नागरिकले अमेरिकी भिसा प्राप्त गर्न ३० लाख रुपैयाँ धरौटी राख्नुपर्ने

    नेपाली नागरिकले अमेरिकी भिसा प्राप्त गर्न ३० लाख रुपैयाँ धरौटी राख्नुपर्ने

    महिला मुक्ति
    १७ साउन २०८३
    162
    Shares

    काठमाडौँ : अमेरिका भ्रमण वा व्यापारिक प्रयोजनका लागि बी–१ र बी–२ भिसाका लागि आवेदन दिने नेपाली नागरिकले भिसा प्राप्त गर्नुअघि अनिवार्य रूपमा कम्तीमा १० हजारदेखि अधिकतम २० हजार अमेरिकी डलरसम्म धरौटी राख्नुपर्नेछ । नेपाली रुपैयाँमा यो रकम करिब ३० लाख रुपैयाँसम्म पुग्न सक्छ ।
    अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि लागू गरेको पर्यटकीय तथा व्यापारिक भिसासम्बन्धी ‘भिसा धरौटी’ प्रणालीलाई स्थायी बनाउने निर्णय गरेको छ । अमेरिकी विदेश मन्त्रालयले एक वर्षसम्म सञ्चालन गरिएको परीक्षण कार्यक्रम सफल भएको निष्कर्ष निकाल्दै उक्त व्यवस्थालाई स्थायी नियमका रूपमा लागू गर्ने निर्णय गरेको हो ।
    यसअघि परीक्षण कार्यक्रम सञ्चालनका क्रममा कन्सुलर अधिकारीको विवेकमा ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी तोक्ने व्यवस्था थियो । तर नयाँ नियम लागू भएपछि ५ हजार डलरको विकल्प हटाइएको छ । अब १० हजार र २० हजार अमेरिकी डलर गरी दुईवटा विकल्प मात्र कायम गरिएको छ । यो रकम भिसा अन्तर्वार्ताअघि नै जम्मा गर्नुपर्नेछ । भिसा अस्वीकृत भएमा वा अमेरिका प्रवेश गरेपछि भिसाको अवधि समाप्त हुनुअघि नियमअनुसार स्वदेश फर्किएमा धरौटी रकम पूर्ण रूपमा फिर्ता गरिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । यो व्यवस्था मुख्य रूपमा अमेरिका भ्रमण, पर्यटन तथा व्यापारिक प्रयोजनका लागि बी–१ र बी–२ भिसा आवेदन दिने नागरिकका लागि लागू हुनेछ । दक्षिण एसियाबाट नेपाल, बंगलादेश र भुटान यस सूचीमा परेका छन् । त्यस्तै, अफ्रिकाका अधिकांश मुलुकसहित विश्वका ५० देशका नागरिकलाई यो व्यवस्थाको दायरामा राखिएको छ ।
    अमेरिकाले भिसाको अवधि सकिएपछि पनि गैरकानुनी रूपमा बस्ने अर्थात् ‘भिसा ओभरस्टे’ गर्ने प्रवृत्ति नियन्त्रण गर्न यो व्यवस्था लागू गरेको जनाएको छ ।
    अमेरिकी सरकारी तथ्यांकअनुसार भिसाको अवधि नाघेर बसेका व्यक्तिलाई पक्राउ गरी स्वदेश फिर्ता गर्न प्रतिव्यक्ति करिब १८ हजार अमेरिकी डलर खर्च हुने भएकाले यस्तो व्यवस्था गरिएको हो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com