logo
  • बिहिबार, १३ कार्तिक २०८३
    • ट्रेन्डिङ

    चिनियाँ सहयोगमा कृषि-खाद्य प्रणाली सुदृढीकरण परियोजना शुरू

    चिनियाँ सहयोगमा कृषि-खाद्य प्रणाली सुदृढीकरण परियोजना शुरू

    महिला मुक्ति
    ४ साउन २०८३
    162
    Shares

    काठमाडौँ  :  चिनियाँ सहयोगमा कृषि-खाद्य प्रणाली सुदृढीकरण परियोजना आज एक कार्यक्रमबीच शुभारम्भ गरिएको छ । उक्त कार्यक्रममा चिनियाँ राजदूत चाङ माओमिङले नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यका साथ चिनियाँ सरकारको आर्थिक सहयोगमा यो परियोजना शुरु गरिएको बताए । उनले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाईमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गरे ।
    अन्तर्राष्ट्रिय विकास सहयोगका लागि चिनियाँ निकाय अन्तर्गतको ‘ग्लोवल डेभलपमेन्ट एण्ड साउथ–साउथ कोअपरेसन फण्ड’ मार्फत यो परियोजना सञ्चालन हुन लागेको हो । परियोजना कार्यान्वयनका लागि संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन र नेपाल सरकारले समेत समन्वय र साझेदारी गर्नेछन् ।
    राजदूत माओमिङले कृषि क्षेत्र नेपालको सामाजिक–आर्थिक विकास, खाद्य सुरक्षा र गरिबी निवारणको मुख्य आधार रहेको बताए । उनले चीन र नेपालबीचको भौगोलिक सामीप्यता र ऐतिहासिक सम्बन्धले कृषि क्षेत्रमा सहकार्यका व्यापक सम्भावनाहरू रहेको बताए ।
    यसअघि पनि चीन सरकारको सहयोगमा नेपालमा विभिन्न कृषि योजनाहरू सञ्चालन भइसकेका छन् । जसअन्तर्गत ललितपुरको खोकनामा चिनियाँ तरकारी तालिम केन्द्र, झापामा पशुपालन तथा मत्स्यपालन सहयोग र चितवनमा उन्नत जातको हाइब्रिड धान खेती जस्ता कार्यक्रमहरूले नेपालको कृषि उत्पादकत्व बढाउन उल्लेख्य भूमिका खेलेको राजदूत माओमिङले स्मरण गराए ।
    यो नयाँ परियोजनाले प्रविधि हस्तान्तरण, तालिम र ज्ञान आदानप्रदानका माध्यमबाट नेपाली कृषकहरूको क्षमता अभिवृद्धि गर्ने र कृषि क्षेत्रको उत्थानशीलता बढाउने लक्ष्य राखेको हाे । यस सहकार्यले सन् २०३० सम्मको संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य हासिल गर्न सहयोग पुग्ने र नेपाल–चीन मैत्री सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com