logo
  • बिहिबार, १३ कार्तिक २०८३
    • ट्रेन्डिङ

    प्रतिपक्षी दलहरूद्वारा प्रधानमन्त्रीको राजीनामा माग

    प्रतिपक्षी दलहरूद्वारा प्रधानमन्त्रीको राजीनामा माग

    महिला मुक्ति
    १९ जेष्ठ २०८३
    297
    Shares

    काठमाडौँ :  प्रमुख प्रतिपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग गरेका छन्। उनीहरुले आजको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग गरेका हुन्। जेठ १७ गते प्रधानमन्त्रीले भारतीय भूमि नेपालले मिचेको छ भनेर दिएको अभिव्यक्तिलाई लिएर उत्पन्न विवादका कारण उनीहरूले प्रधानमन्त्रीबाट माफी माग्नुपर्ने वा राजीनामा दिनुपर्ने माग अघि सारेका हुन्।
    यसैक्रममा श्रमसंस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर हाजिर हुनुपर्ने नियमको उल्लेख गर्दै संविधानको धारा ७७ (१) ग अनुसार अनुपस्थितिमा पदमुक्त हुन सक्ने बताए। उनले भने- ’प्रधानमन्त्रीजस्तो व्यक्तिले जेठ १७ गते राखेको अभिव्यक्ति सच्याउनुपर्छ। नेपालले भारतको सीमा कहाँ-कहाँ मिचेको रहेछ भन्ने कुरा पुष्टि हुनुपर्छ। यदि गल्ती भएको छ भने तीन करोड नेपालीसामु उभिएर माफी माग्नुपर्छ।’
    यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्वु ओलीले नेताको बचाउमा देशकै विरुद्ध प्रमाण बटुल्ने प्रवृत्तिको आलोचना गरिन्। उनले भनिन –
    ‘आजभोलि केही मानिसहरू नेताले बोलेको कुराको बचाउ गर्न देशकै विरुद्ध प्रमाण बटुल्न हिँडेका छन्। संसद्मा बोलेको कुरा अपरिवर्तनीय कूटनीतिक छापका रूपमा रहन्छ। त्रुटि भएको छ, प्रधानमन्त्री पनि नयाँ हुनुहुन्छ।’

    यसैगरी, नेकपा प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीले यति संवेदनशील विषयमा मौन बस्न नहुने बताए। उनले भने- ‘यो सानोतिनो विषय होइन। प्रधानमन्त्रीले संसद्मा आएर माफी माग्नुपर्छ । यदि यति गम्भीर विषयमा गल्ती स्वीकार गर्न तयार हुनुहुन्न भने राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ।’
    दुलालले सभामुख डोलप्रसाद अर्याललाई पनि सबै दलका शीर्ष नेतासँग छलफल गरी संसद् चलाउन पनि आग्रह गरे।
    प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिले भारतसँगको सीमा विवादलाई नयाँ रूपमा उजागर गरेको छ। विपक्षीहरूले सरकारले सदनलाई प्रष्ट जवाफ दिनुपर्ने माग गरेका छन्। तर यो विषयमा सत्तापक्षबाट ठोस र औपचारिक जवाफ संसद्मा आइसकेको छैन।

    यसैबीच , विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकको वेलमा नाराबाजी नरोकपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक २५ गते बस्नेगरी स्थगित गरेका छन् ।
    विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्य माग गर्दै आएका छन् । बिना तथ्य बोलेको हो भने माफी माग्नुपर्ने विपक्षी दलहरूको अडान छ । यसैबीच सभामुख डोलप्रसाद अर्यालले संसद्को कार्यसूची अघि बढाउन खोजेका थिए । तर विपक्षीहरूले आफ्नो अडान छाडेनन् । त्यसपछि सभामुख अर्यालले बैठक २५ गतेसम्मका लागि स्थगित गरेका हुन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com