काठमाडौँ ,परराष्ट्र मन्त्रालयले नेपाली चियाको भारत निर्यातमा देखिएको नीतिगत अवरोध पूर्ण रूपमा हटेको जनाएको छ ।शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको जानकारी दिए । नयाँ दिल्लीस्थित नेपाली दूतावास र मन्त्रालयको निरन्तर समन्वयपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेसँगै नेपाली चियाको निकासी पुनः सहज भएको उनले बताए ।
यसैगरी नेपाल र चीनबिचको परियोजना कार्यान्वयन संयन्त्रको तेस्रो बैठक आगामी जुन महिनामा काठमाडौँमा आयोजना हुने तय भएको छ । बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव र चिनियाँ पक्षबाट नेपालका लागि चिनियाँ राजदूतले सह–अध्यक्षता गर्नेछन् । यसै अवधिमा नेपालले नर्वे र स्विट्जरल्याण्डसँग पनि द्विपक्षीय परामर्श संयन्त्रको बैठक आयोजना गर्दैछ ।
पत्रकार सम्मेलनमा प्रवक्ता क्षेत्रीले कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डका सीमा क्षेत्रमा सञ्चालित अवैध अनलाइन स्क्यामिङ सेन्टरहरूमा फसेका नेपालीहरूको उद्धार कार्य जारी रहेको बताए । उनका अनुसार हालसम्म ६ सय ८७ जनाको उद्धार गरी नेपाल फर्काइएको छ, जसमा पछिल्लो दुई हप्तामा मात्रै ७१ जना थपिएका छन् । कम्बोडियाका जेलमा रहेका २९ जना नेपालीको कानुनी सहायताका लागि पहल भइरहेको छ भने म्यानमारमा कैद मिनाहाका लागि कूटनीतिक प्रयास जारी रहेको मन्त्रालयले जनाएको छ ।
विदेशमा रहेका नेपालीहरूलाई परामर्श र सहयोग उपलब्ध गराउन मन्त्रालयले आगामी जेठ २२ गते ‘मोफा मित्र’ एप सार्वजनिक गर्ने तयारी गरेको छ । व्यक्तिगत घटना दर्तासँग सम्बन्धित कागजातहरूको अनलाइन प्रमाणीकरण प्रणालीलाई पनि थप विस्तार गरिएको छ ।
अर्कोतर्फ राहदानी विभागले नयाँ प्रणाली कार्यान्वयनको अन्तिम तयारी गरिरहेको छ । आगामी असार अन्तिम सातादेखि नयाँ प्रणाली पूर्ण रूपमा लागू हुने र हाल राहदानी सेवा सुचारु रहेको मन्त्रालयले स्पष्ट पारेको छ । नयाँ प्रणालीमा संक्रमणकालीन अवस्थामा सहजताका लागि पुस मसान्तसम्म राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई जेठ महिनाभित्रै आवेदन दिन मन्त्रालयले अनुरोध गरेको छ ।
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क